समाचार
»
ओलीको विकल्प खोजे मुलुकमा दुर्घटना: सुजाता
ओलीको विकल्प खोजे मुलुकमा दुर्घटना: सुजाता
असार २०, २०७३- कांग्रेस नेतृ सुजाता कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोजे मुलुक दुर्घटनामा पर्ने चेतावनी दिएकी छन् ।
‘तीनवटै निर्वाचन नभएसम्म सरकार ढाल्ने सपना कसैले पनि देख्नु हुँदैन,’ रिपोर्टर्स क्लवमा सोमबार आयोजित साक्षात्कारमा कोइरालाले भनिन्, ‘त्यो आफ्नै लागि घातक हुन्छ ।’ कोइरालाले अहिले नै प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोजे मुलुक दुर्घटनामा पर्ने र त्यसको अपजस कांग्रेसमाथि आउन सक्ने भन्दै अहिले सरकार ढाल्ने काममा लागे संविधान कार्यान्वयन नहुने तर्फ सचेत गराइन् ।
सरकार परिवर्तनको खेलमा लागे मुलुक अस्थिरताको चंगुलमा फेरि फस्ने उल्लेख गर्दै कोइरालाले अहिले अस्थिरता ल्याउन खोज्नेहरु आफै संकटमा फस्ने चेतावनी दिइन् । ‘मुलुकमा प्रचण्ड मात्रै एक्लो नेता हुन् र उनकोलागि सरकार ढाल्नु पर्ने ?,’ सुजाताले भनिन्, ‘उनी अहिले प्रधानमन्त्री बन्न पनि सक्दैन र सफल पनि हुँदैनन् ।’
प्रधानमन्त्री ओलीको योजनाले जनतामा उत्साह ल्याएको बताउँदै कोइरालाले कांग्रेसले फेरि जनतालाई निराश बनाउने कुनै पनि निर्णय नगर्ने विश्वास उनले ब्यक्त गरिन् ।
एमाले सचिव प्रदिप ज्ञवालीले मुलुकमा अहिले निर्वाचन हुन नदिएर संविधान र राजनीतिक दलहरुलाई असफल बनाएर गैरदलीय व्यक्ति ल्याउने खेल भइरहेको दावी गर्दै अहिले सरकार बदल्ने खेलले मुलुकको हित नगर्ने दाबी गरे ।
उनले बजेट पारित भएपछि सरकार परिवर्तन गर्ने गरीसहमति भएको हो भने प्रचण्डले बजेट पारित नहोउन्जेलसम्म धैर्यता गर्नु पर्ने भन्दै एउटा सरकारमा बसेर अर्को सरकारको कुरा गर्ने नैतिकता कसैसँग नहुने स्पष्ट पारे ।
ज्ञवलीले काग्रेस, एमाले र मधेसबादीसहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्ने ग्यारेन्टी भए एमालेले सरकारको नेतृत्व छाडेर प्रतिपक्षमा बस्न तयार रहेको बताए । ‘संविधान जारी गर्दा एक भएका चार दल इन्ट्याक्ट हुनु पर्छ भन्ने पक्षमा हामी छौं तर काग्रेसले नै दुई ठूला दल एकैपटक सरकारमा बस्न नहुने भनेर आफ्नो लाइन स्पष्ट पारिसकेको अवस्थामा मुलुकमा राष्ट्रिय सहमतिको सरकार बन्ने अवस्था छैन,’ उनले भने ।
तत्कालिन एकीकृत नेकपा माओवादीसँग भएको नौ बुँदे सम्झौता कार्यान्वयमा गइरहेको दाबी गर्दै ज्ञवालीले शान्ति प्रक्रियाका विषयमा सर्वोच्चको फैसला, अन्तर्राष्ट्रिय समूदाय र द्वन्द्व पीडितहरुको भावना विपरीत दाहाल प्रधानमन्त्री भए पनि काम गर्न नसक्ने ठोकुवा गरे । ‘गम्भीर अपराधका मुद्दाको सम्बन्धमा सर्वोच्च अदालतले गरेको फैसला, अन्तर्राष्ट्रिय सन्धी सम्झौता र द्वन्द्वपीडितको भावना विपरीत गएर इन्द्रको बाऊ चन्द्रेले पनि केही गर्न सक्दैन,’ उनले भने, ‘त्यसैले एमाले केही गरेन भन्ने आरोप गलत हो ।’
नेकपा माओवादी केन्द्रका नेता मणि थापाले शान्ति प्रक्रियालाई टुंग्याउन नेकपा एमालेले नकारात्मक भूमिका खेलेको आरोप लगाउँदै राष्ट्रिय सहमतिको सरकार गठन हुन नसके शान्ति प्रक्रियाको मुद्दामा जो पोजिटिभ हुन्छ उसैसँग नजिक भएर सरकार गठन गर्ने स्पष्ट पारे ।
थापाले ठूलो दल कांग्रेस बाहिर रहँदा संविधान कार्यान्वयनमा समस्या उत्पन्न भएको भन्दै राष्ट्रिय सहमति मुलुकको आवश्यकता भएकोले माओवादी केन्द्र सहमतिको सरकार गठनको लागि अग्रसर भएको दाबी गरे ।
0 comments
Write Down Your Responses