प्रचण्डको बाटो हेर्दै प्रधानमन्त्री ओली



१९ असार, काठमाडौं । प्रधानमन्त्री निवास वालुवाटार र प्रचण्ड निवास लाजिम्पाट दुरीको हिसाबमा धेरै टाढा छैन । तर जब मन टाढा हुन्छ तब नजिकै भएर दुरी टाढा हुन्छ भनेझैं नेकपा माओवादी केन्द्रले सरकार परिवर्तन गर्ने कदम अगाडि बढाएपछि प्रधानमन्त्री केपी ओली निकै निराश र तनाबमा देखिएका छन् । माओवादीले गरेको निर्णयसँगै आइतवार प्रधानमन्त्री ओली कुनै पनि सार्वजनिक कार्यक्रममा सहभागी भएनन् । उनको निर्धारित कार्यक्रम भएपनि कार्यव्यस्ताले भन्दै रद्द गरेको प्रधानमन्त्रीको सचिवालयले बताएको छ । प्रधानमन्त्री ओलीले आफू निकटका नेताहरुसँग माओवादीले लिएको निर्णयको बारेमा दिनभर नै छलफल गरे । माओवादीको औपचारिक प्रस्ताव आएपछि मात्र सरकारको बारेमा धारणा बनाउने तयारीमा प्रधानमन्त्री ओली रहेका छन् । एमालेका नेताहरुले सकेसम्म नौ बुँदे सहमतिमा माओवादीलाई मनाएर निर्वाचनसम्म यही गठबन्धनाई निरन्तरता दिएर जानुपर्ने सुझाव दिएको एक नेताले बताए । ती नेताले भने,‘माओवादी आफ्ना माग पूरा गराउन सरकार परिवर्तनको खेल झिक्छ, नीति तथा कार्यक्रम अगाडि पनि सरकार परितर्वन गर्ने निर्णय गर्यो हामीले मनायौँ, अहिले पनि बजेटप्रति असहमित जनाएको छ, उनीहरुको माग सम्बोधन गर्ने वित्तिकै सरकार परिवर्तन खेलमा माओवादी लाग्दैन ।’ अर्को सरकार बनाउदा अहिले जतिको माग पूरा नहुने निष्कर्ष एमालले लिएको छ । पार्टीको निर्णय अनुसार प्रधानमन्त्री ओली प्रचण्ड छलफल गर्न आउने भन्दै प्रतिक्षमा रहेका छन् । पार्टीमा विगतमा संयुक्त रुपमा निर्णय गराउदा ब्याक हुनु परेको घटनासँगै यस पटक प्रचण्डले चलाखीपूर्वक सरकारको बारेमा आफैले निर्णय गर्ने अधिकार केन्द्रीय कार्यालयको बैठकबाट लिएका छन् । प्रचण्ड रातदिन छलफलमा जुटेका छन् । अबको पाँच दिनपछि सरकारले पेश गरेको बजेट पारित गर्ने र नयाँ सरकारको गठन प्रक्रिया अगाडि बढ्छ । सहमतिको सरकारका बारेमा केही दिन अल्झिए पनि बहुमतिय सरकार गठनको प्रक्रिया अगाडि बढाउनु अनिवार्य शर्त प्रचण्डले ठानेका छन् । प्रचण्डले सम्भवतः सोमवार प्रधानमन्त्री ओलीसँग छलफल गर्ने प्रचण्डको सचिवालयले बताएको छ । सरकार ढाल्ने चक्करले गर्दा प्रचण्ड पनि आइतावर दिनभरी नै निवासमा पार्टीका नेताहरुसँगको छलफलमा व्यस्त रहेका थिए । यस पटक प्रचण्डले गरेको निर्णय नफेरिए साउन पहिलो साता नयाँ सरकार गठन हुनेछ ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.

Search This Blog

Blog Archive

Contributors