अख्तियारको दबाबमा इमेज च्यानलले रोक्यो डा. केसीको अन्तर्वार्ता



टेलिभिजन च्यानलले आफ्नो साप्ताहिक कार्यक्रम ‘अलगधार’ का लागि प्रसारण गर्न तयार पारेको वरिष्ठ चिकित्सक डा. गोविन्द केसीको अन्तर्वार्ता अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दबाबमा रोकेको छ। अलगधार कार्यक्रमका सञ्चालक तथा निर्माता सुरेश शर्माले गत साता डा. केसीको अन्तर्वार्ता लिएका थिए। हरेक साता बिहीबार प्रसारण हुने यो कार्यक्रमको अघिल्लो अंकका लागि डा. केसीको अन्तर्वार्ता लिइएको भए पनि अहिलेसम्म प्रसारण भएको छैन। त्यसको सट्टा अर्कै कार्यक्रम प्रसारण गरिएको थियो। डा. केसीले बिहीबार प्रसारण गर्ने भनेर इमेज टिभीले आफ्नो अन्तर्वार्ता लिएको सेतोपाटीलाई बताए। सुरूमा इमेजको स्टुडियोमै आएर अन्तर्वार्ता दिन अनुरोध गरिएको थियो। केसीले फुर्सद नभएको बताएपछि अलगधार टिम टिचिङ अस्पताल महाराजगन्ज पुगेको थियो। ‘उहाँहरूको निकै जोडपछि मैले अन्तर्वार्ता दिएको थिएँ,’ केसीले सेतोपाटीसँग भने, ‘सुरूमा मलाई स्टुडियोमा बोलाइएको थियो, भ्याउँदिनँ भनेपछि उहाँहरू आफैं आउनुभएको हो।’ अख्तियारका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउनुपर्ने लगायत चिकित्सा शिक्षासँग सम्बन्धित माग राख्दै डा. केसीले आन्दोलन घोषणा गरेपछि इमेज टिम अन्तर्वार्ता लिन गएको थियो। केसीले चिकित्सा सुधारका विषयमा सरकारसँग भएका सम्झौता पालना नभएको र प्रमुख आयुक्त कार्कीले काठमाडौं विश्वविद्यालयको परीक्षामा हस्तक्षेप गरेको आरोप लगाएका थिए। ‘मैले राखेका मागहरूकै विषयमा अन्तर्वार्ता लिइएको थियो,’ केसीले भने, ‘प्रसारण भयो भएन, थाहा भएन।’ इमेज च्यानल स्रोतका अनुसार प्रसारण हुने बेला व्यवस्थापनले अन्तर्वार्ता रोकेको हो। इमेज च्यानलका सम्पादक महेन्द्र विष्टले अख्तियारको भनाइ आवश्यक पर्ने भएकाले अलगधारका लागि लिइएको डा. केसीको अन्तर्वार्ता तत्कालका लागि प्रसारण नगरिएको बताए। ‘पन्ध्र–पन्ध्र मिनेट दुवै पक्षको अन्तर्वार्ता राख्ने योजना भएकाले केसीको अन्तर्वार्ता तत्कालका लागि प्रसारण नभएको हो,’ विष्टले सेतोपाटीसँग भने, ‘अख्तियारको कोही पदाधिकारी उपलब्ध भएपछि प्रसारण हुन्छ, हामीले अन्तर्वार्ता किल गरेको होइन।’ नेपाल पत्रकार महासंघका अध्यक्षसमेत रहेका विष्टका अनुसार दुई पक्ष (केसी र कार्की) बीच आरोप–प्रत्यारोप चलेकाले सकभर दुवैको अन्तर्वार्ता राख्न खोजेको हो। ‘सके प्रमुख आयुक्त, नसके कोही पदाधिकारीको राख्ने तयारी छ, अख्तियारका पदाधिकारीसँग कुरा गरेपछि अन्तर्वार्ता प्रसारण हुन्छ,’ विष्टले भने। विष्टले अख्तियारसमेतको अन्तर्वार्ता राख्ने पूर्वसर्तमा केसीसँग अन्तर्वार्ता लिइएको बताए। डा.केसी भने अन्तर्वार्ता लिनुपूर्व त्यस्तो सर्त नराखिएको बताउँछन्। ‘अन्तर्वार्ता अगाडि कुनै सर्त राखिएको थिएन,’ डा. केसीले भने। अलगधार टिमका एक सदस्यले केसीको मात्र अन्तर्वार्ता प्रसारण गर्दा ‘ब्यालेन्स’ नहुने भएकाले अख्तियारको अन्तर्वार्ता पर्खिएको बता। ‘अख्तियार प्रवक्ता कृष्णहरि पुस्करले अन्तवार्ता दिने कुरा छ, तर उहाँले समय दिनुभएको छैन,’ अलगधार टिमका सदस्यले सेतोपाटीसँग भने, ‘पुस्करजीले समय दिएपछि उहाँको पनि समावेश गरेर प्रसारण गर्छौं।’

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.

Search This Blog

Blog Archive

Contributors