मेरै बारी, मेरै घास- लोकमानले गर्यो सत्यानाश


सन् १९९५ ताकाको कुरा हो। एकजना थिए, प्रकाश टिवडेवाल। जन्मले मारवाडी थिए, तर कर्मले उनी जे पनि हुन सक्थे। उनलाई मारवाडीले गर्ने पारम्परिक ब्यापार भन्दा अलग शैलीको काम गर्ने चस्का पस्ने गर्थ्यो। एकपटक उनले अरु सब छोडेर ढुंगामा फोटो छाप्ने प्रविधि भित्र्याएर आफना समकालीन मारवाडी हरुलाई हँसाए। हाँस्ने मध्ये एकजना गैर मारवाडी पनि थिए, प्रधानमन्त्री गिरिजाप्रसाद कोईरालाका तत्कालीन प्रेस सल्लाहकार जयप्रकाश गुप्ता। उनले एक साँझ मलाई भने, ” अब यो डुब्छ, मारवाडी कलाकार भएर कसरी ब्यापार गर्ला?” नभन्दै, जेपीले भनेजस्तै, ‘ढुंगे-तस्वीर’को ब्यापार चलेन। प्रकाश टिवडेवाल पनि केही समय भेटिएनन। तर उनको एउटा गजबको चारित्रिक बिशेषता थियो, उनी “मेडीया फ़्रेण्ड्ली” थिए। त्यतिबेला नाम चलेका पत्रकारहरुले प्रकाशको घाटको पानी पिएको छैन भन्ने दावी गर्यो भने मलाई त्यो हास्यास्पद लाग्नेछ। एक साँझ एउटा जमघटमा प्रकाश भेटिए, उनले आफ्नो नयाँ ‘धन्धा’ को बारेमा सुनाए। बास्तवमा त्यो उनको व्यक्तिगत स्वामित्वको ‘धन्धा’ थिएन।यो धन्धामा त्यतिबेला सत्ताका नजीक रहेका धेरैले आफ्नो तीनपुस्ते अर्थ व्यवस्था बलियो बनाए। कालान्तरमा यो धन्धा “एलसी काण्ड” का रुपमा कुख्यात भयो। यसमा उनका र यो धन्धामा लागेकाहरुका प्रमुख मतियार थिए, अहिलेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्की। उनी त्यतिबेला तत्कालीन अर्थमन्त्री महेश आचार्यको कृपाले भन्सार विभागका महानिर्देशक थिए। कान्तिपथको ‘होटेल माउण्टेन’को एउटा हलमा चुरोटको धुँवा र व्हिस्कीको गन्धबीच गफिने व्यापारीहरुमा प्रकाश एक्ला थिएनन, त्यहाँ हरेक पार्टी र दरवार संग सम्बद्द व्यापारिक घरानाका प्रतिनिधि थिए। उनीहरुको निर्क्योल थियो , ” खजाञ्ची (राष्ट्र बैंक) संग कुरा मिलिसकेको छ। भन्सारको लागी हाम्रो ‘हात्ती’ (लोकमान सिंह कार्की) छदैंछ।” नभन्दै व्यापारीहरुका हात्ती त्यहाँ आईपुगे। सबैसंग हात मिलाए। अनि अजंगको शरीर कुर्सीमा थचारेर ‘वेटर’ लाई हप्काए, “सिंगल माल्ट छैन?” यो उच्चस्तरीय बिदेशी रक्सीको एउटा प्रकार हो। तत्कालीन सरकारले “कृषकहरुको सुविधाका लागि” मल आयात गर्दा डलर सटही दरमा राष्ट्रले घाटा खाएर प्रति डलर आठ रुपियाँ छुट दिने निर्णय गरेको थियो। यसको सुविधा कृषकहरु भन्दा कमीशनखोरहरुले उठाए। राष्ट्र बैंकले छुट दिएको दरमा डलर सटही सुविधा दिन्थ्यो। मल आउंथ्यो, बोरामा होईन, केवल कागज मा। नक्कली प्रज्ञापन पत्र, नक्कली सबैकुरा भन्सारमा बुझाइन्थ्यो। भन्सार विभागका महानिर्देशक कार्कीको नेतृत्वमा कर्मचारीहरु त्यो नक्कली कागजपत्रमा ल्याप्चे लगाउँथे। लोकमानले नेता, कर्मचारी, राष्ट्र बैंक सबैलाई खुशी तुल्याएका थिए। तर एउटा समूह खुशी थिएन। कान्तिपुर प्रकाशन गृहको छायाँमा आफ्नो अघोषित ब्यापार बिस्तार गर्न लालायित एउटा समूह “एलसी” काण्डको ‘तर’ मार्न बाट बन्चित भयो। कान्तिपुरले यसबिरुद्द ‘जेहाद’ नै छेड्यो। ठुला हरु उम्के, कान्तिपुरले अदालत भन्दा पहिले प्रकाश टिवडेवाललाई ‘दोषी’ ठहर गर्दै, सम्पूर्ण खति उनको टाउकोमा थोपर्यो। कैलाश सिरिहियाले त्यतिबेला आधा दर्जन सम्बाददाताहरुलाई प्रकाश टिवडेवालको मानमर्दन गर्न खटाए। कुनैबेला कैलाश र प्रकाश रक्सी मात्र होईन, केटी पनि साटासाट गर्थे। त्यतिबेला कैलाश सिरोहियाले लोकमान सिंहको यो काण्डमा संलग्नताको बारेमा कान्तिपुरमा एक शब्द लेख्न दिएनन। कान्तिपुरका संचालकहरुलाई थाहा थियो, महेश आचार्य मार्फत गिरिजाप्रसाद कॊइरालाको कृपापात्रका रुपमा लोकमान अर्थ सचिवमा बढुवा हुने तरखरमा छन्। लोकमानलाई अर्थसचिवको पदमा स्थापित गर्ने कांगेस सरकार सडकमा पुग्दा, गिरिजाप्रसादको टाउकोमा लाठी बजार्ने राजाको सरकारको मुख्यसचिवमा उनै लोकमान सिंह थिए। उनले लोकसेवा आयोगको परीक्षा दिनुपरेन। राजा बीरेन्द्रको हुकुम प्रमांगीबाट उनी निजामती सेवामा प्रवश गरे। जनआन्दोलन २ को सफलता पछि लोकमान बेपत्ता भए। उनले अख्तियार दुरुपयोग सनुसंधान आयोगको प्रमुखका रुपमा रहस्यमय नियुक्ति पाएपछि बीबीसीमा एउटा अन्तर्वार्ता दिंदै भने, “म यो दूई बर्ष भारतमा पाईलट बाबाको सान्निध्यमा आध्य्यात्मिक ज्ञान आर्जन गर्दै थिएँ।” पाईलट बाबा अध्यात्मिक गुरु होईनन, सत्ताको दलाली गर्ने सयौं भारतीय गुरुहरु मध्ये एक हुन्, जसको भारतीय अन्तर्राष्ट्रीय गुप्तचर संस्था संग सांठगाठ रहेको छ। यो कुरा स्वयं भारतीय संचार माध्यमहरु भन्छन। डा. बाबुराम भट्टराईले आफ्नो प्रधान्मन्त्रित्वकालमा भारतीय योजना अनुसार प्रधान न्यायाधीश खिलराज रेग्मीलाई चुनावी सरकारको नेतृत्व दिने प्रस्ताव गरेपश्चात लोकमान सिंहको नाटकीय उदय भएको हो। भारतलाई आगामी चुनाव मार्फत नेपालमा कुन दलको सरकार बन्छ भन्ने कुराको निश्चित यकीन थिएन। भारतको “र” अनि विदेश मन्त्रालयको छुट्टै “कूटनीतिक रिपोर्ट” र राजदूतको “व्यक्तिगत” आकलन परस्पर बाझिएको थियो। बाबुरामले माओवादी पार्टीभित्र धमिरा लगाईसकेका छन् भन्ने कुरा भारत लाई ज्ञात थियो । किनभने, यो भारतकै योजना थियो। भारतलाई चुनाव अघिनै नेपाली राजनीतिलाई आफू अनुकूल सन्तुलनमा राख्ने एउटा ‘उत्तोलक’ को आवश्यकता थियो। लोकमान यसका लागि उपयुक्त पात्र थिए। उनी पंचायती शासनमा हुर्किएका पात्र थिए। गिरिजाकालले उनलाई पुल्पुल्याएको थियो। ज्ञानेन्द्रले उनको यो अनुभवको उपयोग गरेका थिए। गणतान्त्रिक नेपालका नीति निर्माताहरुको टाउको माथी भारत “डेमोक्लसको तरवार” झुण्ड्याउन चाहन्थ्यो। यसकालागी राष्ट्रपति रामवरण यादवलाई लज्जित तुल्याउँदै रातारात भारतीय “टेलिफोन” हरुले लोकमानलाई नियुक्ति दिलाए। त्यो दिन, लोकमान को शीर ठडियो, लोकतन्त्रको शीर निहुरियो। भारतलाई लोकमान नै छान्नुपर्ने आवश्यकता किन पर्यो त? नेपालका हरेक पार्टीका नेताहरुले लोकमानले राष्ट्रिय ढुकुटीबाट लुटेको पैसामा आफ्नो मुख गाडेका छन्। लोकमान बिरुद्द संसदीय सुनुवाई गर्ने र अभियोग सावित गरेर उसलाई पदच्यूत गर्ने नैतिक साहस अहिलेका कुनै नेतामा छैन। लोकमानको समानान्तर सरकार चलेको छ। सबैले देखेका छन्। तर कोही बोल्दैनन। किन? लोकमान बॆइमान हो। तर लोकमान माथि औंला उज्याउनेहरु आफै ईमान्दार छैनन्। भारतले नेपालको यही कमजोरीको फाईदा उठाएको हो। बलियो छिमेकीले निर्बल किसानको बारीमा लोकमान नामको साँढे छोडेको छ। साभारः पिएसजे

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.

Search This Blog

Blog Archive

Contributors