आगलागीबाट सितलापुरबासीको खुल्ला आकाशमा बास, ५९ घरगोठ नष्ट, २२ बाख्रा जले


सीताराम चौधरी कपिलवस्तु, ३० चैत । कपिलवस्तुको शिवराज नगरपालिका १० सितलापुरमा आज दिउँसो साढे ११ बजे आगलागी हुँदा ५९ घरगोठ जलेर नष्ट भएका छन् ।
आगलागीबाट स्थानीय ५५ वर्षे सिताराम लोनिया सामान्य घाइते भएका छन् भने आगलागीबाट २२ गोटा बाख्रा जलेर मरेका छन् ।
स्थानीय मन्नान मियाको खरको घरबाट सुरु भएको आगलागी टोलमै फैलिएको थियो । मियाको घरको पश्चिमतर्फको सम्पूर्ण घर जलेर नष्ट भएको छन् ।
आगलागीबाट भर्खरै भित्र्याएको अन्नबाली गहुँ, मसुरो, अरहर तथा धान, चामल जस्ता खाद्यान्न सम्पूर्ण जलेर खरानी भएको छ । यस्तै लत्ताकपडा, भाँडाकुँडा, काठपात, रुपैयाँपैसा, गरगहना समेत जलेर नष्ट भएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक झविन्द्रप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
आगलागीबाट बसिर मियाको १३ गोटा बाख्रा, सत्यनारायण चमारका ४, मंसुर मियाका ३ र मन्नान मियाका २ गोटा बाख्रा जलेर मरेको भट्टराईले बताउनुभयो । तौलिहवा र कृष्णनगरबाट आएको दमकल, वडाप्रहरी कार्यालय चन्द्रौटाको टोली, महराजगञ्जको सशस्त्र टोली, स्थानीय बासिन्दा लगायतको सक्रियतामा आगो साँझ ३ बजे नियन्त्रणमा आएको प्रहरी निरीक्षक भट्टराईले बताउनुभयो ।
आगलागी भएको एक घण्टापछि कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकाल, जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक भोजजंग शाह समेतको टोलीले स्थलगत अनुगमन, निरीक्षण गरेका थिए । आगो नियन्त्रणसँगै प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले जिल्ला दैबी प्रकोप राहत कोषबाट पीडित परिवारलाई तत्काल जनही ५ हजारका दरले नगद रकम हस्तान्तरण गर्नुभयो ।
प्रजिअ ढकालले पीडित सम्पूर्ण घरपरिवारलाई विहीबारसम्म जनही १० हजारका दरले रकम वितरण गरिने बताउनुभयो । सोही क्रममा प्रजिअ ढकालले जिल्ला दैवीप्रकोप राहत समितिको बैठक बसी अन्य सामग्रीको लागि तत्काल पहल गरिने समेत पीडित परिवारलाई आश्वासन दिनुभएको थियो ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.

Search This Blog

Blog Archive

Contributors