स्थानीय तहको निर्वाचन बहिस्कार गर्ने मधेशी मोर्चाको निर्णय
काठमाडौ : संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले स्थानीय तहको निर्वाचन बहिस्कार गर्ने निर्णय गरेको छ । तराई मधेश लोकतान्त्रिक पार्टीको कार्यालयमा बुधवार बसेको बैठकले त्यस्तो निर्णय गरेको हो । सरकारले संविधान संशोधनको नयाँ बिधेयक संसदमा दर्ता गरेको भोलिपल्ट मोर्चाले यस्तो निर्णय गरेको बैठकमा सहभागी राष्ट्रिय मधेश समाजवादी पार्टीका महासचिव केशव झाले जानकारी दिनुभयो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मधेशी मोर्चा र प्रमुख प्रतिपक्षी दल एमालेसँगको परामर्शमा संविधान संशोधनको नयाँ बिधेयक ल्याइएको बताउँदै आउनुभएको थियो । पहिले दर्ता गरेको संशोधन बिधेयक फिर्ता लिएर पुन अर्को संविधान संशोधन बिधेयक मंगलवार व्यवस्थापिका संसदमा दर्ता गरिएको थियो । संविधान संशोधनको नयाँ बिधेयक संसदमा दर्ता भएपछि त्यसबारेमा आधिकारिक धारणा तय गर्न मोर्चाको बुधवार बैठक बसेको हो ।
नागरिकता,भाषा,राष्ट्रिय सभाका बारेमा पूरानै बिषय राखिएको,नयाँ बिधेयक पहिले भन्दा पनि पछाडि फर्केको आरोप लगाउँदै मोर्चाले निर्वाचन बहिस्कारसहित आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । झाका अनुसार संविधान संशोधनको नयाँ बिधेयकले आफूहरुका माग सम्बोधन गर्न नसकेको भन्दै मोर्चाले निर्वाचन बहिस्कारसहितका आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।अध्यक्ष यादवले मोर्चा र गठबन्धनले उठाएका मुद्दा सम्बोधन गराउन शान्तिपूर्ण अहिंसात्मक जनअवज्ञा आन्दोलनलाई निरन्तर जारी राख्ने बताउनुभयो । बैठकले यही चैत ३१ गते सबै जिल्ला सदरमुकाममा जुलुस प्रदर्शन गर्ने र वैशाख ३ गते जिल्लास्थित निर्वाचन कार्यालय घेराउ गर्ने निर्णय गरेको छ
बैठकले सरकारले ल्याएको संविधान संशोधनको प्रस्तावले आफ्ना मुद्दाहरु सम्बोधन नहुने भन्दै अस्वीकार गर्ने निर्णय गरेको सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिनुभयो । मोर्चा र सङ्घीय गठबन्धनले सरकारसमक्ष प्रस्तुत गरेको ११ र २६ बुँदे मागअनुसार संविधान संशोधन गरी मुद्दा सम्बोधन नभएसम्म आन्दोलन जारी रहने निर्णय गरेको छ ।
राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष शरदसिंह भण्डारी काठमाडौ बाहिर रहेका कारण बैठकमा तमलोपा अध्यक्ष महन्त ठाकुर, सङ्घीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्रप्रसाद यादव, नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झा, मधेसी जनाधिकार फोरम (गणतान्त्रिक) अध्यक्ष राजकिशोर यादवलगायत उपस्थित हुनुहुन्थ्यो ।
0 comments
Write Down Your Responses