अनुराधा कोइराला पद्मश्री अवार्डबाट सम्मानित..
भारतको राजधानी नयाँदिल्लीमा बिहीबार भारतीय राष्ट्रपति प्रणप मुखर्जीबाट पद्मश्री पदक ग्रहण गर्दै माइत नेपालकी संस्थापक अध्यक्ष अनुराधा कोइराला । तस्बिर साैजन्यः माइती नेपाल
नयाँ दिल्लीः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नजीक आइपुगेपछि मलाइ सोध्नुभयो ,नेपाल मजे मे है ? म एकछिन अल्मलिए, किनकी उहाँले मसँग कुरा गर्नुहोला भन्ने मैले सोचेको थिइन । मेरो विचारमा मलाइ भन्दा बढि तपाइलाइ थाहा छ (आइ थिंक यु नो मच बेटर द्यान आइ डु ) भनेर मैले जवाफ फर्काए । त्यसपछि उहाँ ठहाका लगाएर हाँस्नुभयो ,त्यहि बीचमा मैले उहाँको अटोग्राफ लिन भ्याएँ । त्यसपछि नमस्कार गरेर उहाँ अगाडि बढनुभयो ।
विहिबार भारतीय राष्ट्रपति प्रणव मुखर्जीबाट पदम श्री अवार्डबाट सम्मानित भएपछि माइती नेपालकी संस्थापक अध्यक्ष अनुराधा कोइरालाले प्रधानमन्त्री मोदीसँगको वार्तालाप सुनाउनुभयो । नयाँ दिल्लीको राष्ट्रपति भवनमा आयोजित एक समारोहमा पदम पुरस्कार २०१७ बाट सम्मानित हुनेहरुलाइ बधाइ दिने क्रममा प्रधानमन्त्री मोदी कोइराला नजीक आइपुग्दा अचानक यस्तो वार्तालाप भएको उहाँले बताउनुभयो ।
नेपाल भारतको सीमामा मानव तस्कर विरुद्धको निरन्तर लडाइ, रेड लाइट एरियाबाट चेलीबेटीको उद्धारमा देखाएको हिम्मत तथा नेपाल भारत सीमानाकामा चेलीबेटी बेचविखन नियन्त्रणकालागि गरेको अथक प्रयासकालागि भारत सरकारले उहाँलाइ पदम श्री अवार्डबाट सम्मान गरेको हो । यो अवार्डबाट सम्मानित हुने कोइराला नेपालको पहिलो व्यक्ति हुन् । सम्मानको घोषणा भारतको गणतन्त्र दिवस (२६ जनबरी २०१७) का दिन गरिएको थियो ।
कोइरालाले नयाँ दिल्ली स्थित नेपाली दूताबासमा अन्नपूर्णसँग कुरा गर्दै भन्नुभयो, यो सम्मानले मलाइ आफनो काम प्रति थप जिम्मेबारी बोध गराएको छ । भारत सरकारपनि यो विषयमा गम्भीर छ । आगामी दिनमा थप सहकार्य गरेर काम गर्छौं । भारतमा माइती नेपालको भगिनी संगठन माइती इण्डिया चेलीबेटी उद्धारमा क्रियाशील छ । सम्मानकालागि भारत सरकारलाइ धन्यवाद दिदैं उहाँले भन्नुभयो, दुइ मुलुकबीचको सीमानाका भएर हुने चेलीबेटी बेचविखन नियन्त्रण गर्न हाम्रो सरकार थप जिम्मेबार हुनुपर्छ ।
सरकारले उमेरै नपुगेका केटीहरुलाइ समेत नागरिकता दिएका कारण अज्ञानतामा उनीहरु बेचिएको थुप्रै उदाहरण छन् । त्यसैले हामीले दिएको सुझावलाइ सरकारले लागु गरिदियो भने मात्रै पनि आधा समस्या समाधान हुन्छ ,चेलीबेटी बेचविखनमा पच्चीस वर्षको अनुभव सुनाउँदै कोइरालाले भन्नुभयो । अहिले भारत सरकारकी महिला तथा बाल विकास केन्द्रिय मन्त्री मेनुका गाँधीले यो विषयलाइ निकै गम्भीरताकासाथ लिनुभएको छ । महिलाहरुकालागि दिल्लीमा संयुक्त अस्थायी संरक्षण गृहका विषयमा पनि कुराकानी भइरहेको छ,उहाँले भन्नुभयो ।
शिक्षामा पहुँच, लैंगिंक विभेदको अन्त्य,बेरोजगारीको समस्याको विकल्प सँगै सीमानाकामा प्रभावकारी चेकजाँच व्यवस्था अनि गरिबीलाइ सम्बोधन गरेमा मात्र यो समस्या समाधान हुने कोइरालाले बताउनुभयो । चेलीबेटी बेचविखनमुक्त नेपाल बनाउने मेरो अभियान छ । जुन दिन माइती नेपाल भन्ने संस्था बन्द हुन्छ त्यो दिन मेरो अभियान सफल हुन्छ । त्यसकालागि निरन्तर लागिरहन्छु ,भारतका राजदूत दीपकुमार उपाध्यायले गरेको विशेष सम्मान ग्रहण पछि कुरा गर्दै ६८ वर्षीय कोइरालाले भन्नुभयो ।
कोइराला सहित भारतका विभिन्न क्षेत्रमा योगदान पुरयाउने सहित अन्य ३७ जनालाइ भारत सरकारले पदम श्री अवार्डबाट सम्मानित गरेको छ । पदम श्री अवार्ड भारतीय नागरिकलाइ सम्मान गरिने चौथो उच्च सम्मान हो । भारत रत्न, पदम विभुषण तथा पदम भुषण पछिको यो अवार्ड भारतीय नागरिक बाहेक भारतकालागि योगदान गर्ने व्यक्तिलाइ समेत दिने प्रचलन रहेको छ ।
0 comments
Write Down Your Responses