मध्यरातमा मन्त्रीको सक्रियतापछि पिचको काम धमाधम...


काठमाडौं, चैत ३१– खानेपानी तथा सरसफाइमन्त्री जीवनबहादुर शाहीले मध्यराती नियमित रुपमा अनुगमन गर्न थालेपछि मेलम्ची खानेपानी आयोजनाले पाइप बिच्छ्याउनका लागि खनिएको सडकमा अस्थायी पिचको काम धमाधम भइरहेको छ ।

मेलम्ची खानेपानी आयोजनाले काठमाडौं उपत्यका भित्र व्यवस्थित रुपमा पानी वितरणका लागि पाइप गाड्न खनिएको सडकबाट धूलो उडेर जनताले सास्ती भोग्नुपरेको गुनासो विभिन्न माध्यमबाट आउन थालेपछि यसलाई व्यवस्थित गर्न मन्त्री शाही सक्रिय भएर लागेका छन् ।
मध्यरातमा अनुगममा निस्कने मन्त्री शाहीले पाइप बिच्छ्याउनका लागि खनिएको खाल्डो रातीनै पुर्न र सम्भव भएसम्म उज्यालो हुनु भन्दा अगाबै अस्थायी पिच गर्न निर्देशन दिएका छन् ।
मन्त्री शाहीको निर्देशन पछि अहिले आयोजना कार्यान्वयन निर्देशनालयले सडकमा पारिएको खाल्डो तत्काल पुर्न थालेको छ ।
खाल्डोमा सवारी खस्ने गुनासो पनि सुनिन छाडेको छ । यस्तो समस्या भए तत्काल आफूलाई जानकारी गराउन समेत जनतालाई मन्त्री शाहीले आग्रह गरेका छन् ।
मन्त्रीले रातीको समयमा नियमित अनुगमन गर्न थालेपछि गएराती नारायणगोपाल चोक देखि न्युरो अस्पताल बाँसबारीसम्म अस्थायी पिच गर्ने काम सकिएको छ । थापाथली देखि पुल्चोकसम्म र लाजिम्पाट क्षेत्रमा अस्थायी पिचको काम सम्पन्न भैसकेको छ । अहिले मेलम्ची खानेपानी आयोजनाको ८० प्रतिशत पाइप बिच्छ्याउने काम सम्पन्न भैसकेको छ । अबको बढीमा २० दिनमा सबै ठाउँमा पाइप बिच्छ्याएर सकिने आयोजना कार्यन्वयन निर्देशनालयले जनाएको छ ।
गौशालादेखि चाबहिलसम्म अलि समस्या भएको भनेपछि मन्त्री शाहीले त्यो समस्या तत्काल समाधान गर्न निर्देशन दिएका छन् । चावहिल चुच्चेपाटीसम्म अस्थायी पिचको काम सकिएपनि सडक दायाँबायाँको घर भत्काउने काम भइरहेको र सडकमा गिट्टी बालुवा लगायतका निर्माण सामग्री थुपारेको हुनाले धूलो उडिरहेको भन्दै यो समस्या समाधान गर्न आफूहरु तयार रहेको निर्देशनालयले मन्त्री शाही समक्ष प्रतिवद्धता व्यक्त गरेको छ ।
मन्त्री शाहीले राजधानीका मुख्य सडक र मानिसको आवतजावत बाक्लो हुने ठाउँमा तत्काल पाइप बिच्छ्याएर अस्थायी पिच गर्न निर्देशन दिएका छन् । पिच नभई धूलो हटाउन समस्या भएको भन्दै मन्त्री शाहीले यो कामलाई तुरुन्त सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन् । तत्कालका लागि धूलो नियन्त्रण गर्ने गरि काम गर्नुपर्ने भन्दै मन्त्री शाहीले यसका लागि आफू निरन्तर लागिरहेको बताए ।
मुलुकको राजधानी जस्तो ठाउँ सफा ,सुन्दर र हराभरा हुनुपर्ने भन्दै मन्त्री शाहीले त्यसमा सबै पक्षले ध्यान दिएर काम गर्नुपर्ने बताए । मन्त्री शाहीले भने,“सार्क शिखर सम्मेलन हुँदाको जस्तो सफा, स्वच्छ, सुन्दर र हराभरा काठमाडौं बनाउने मेरो लक्ष्य हो । त्यो अवस्थामा मात्र लान सकियो भने धेरै राम्रो हुन्छ । हामीले सफा शहर हाम्रो रहर भन्ने उदेश्यका साथ काम गर्नुपर्छ । सडक पिच गरिसकेपछि काठमाडौं मुहार फेर्छ । त्यसपछि नियमित रुपमा ब्रुमर प्रयोग गरेर सडक सफा गरिन्छ ।”
सडक पिच गर्नका लागि सडक विभागलाई खानेपानी मन्त्रालयले २४ करोड निकासा गरिसकेको भन्दै मन्त्री शाहीले यसका लागि आफूले निरन्तर ताकेता गरिरहने बताए । सडकले प्रभावकारी काम गरे तत्काल थप रकम निकासा गर्न पनि आफू तयार रहेको उनको भनाइ छ । शाहीले आफूहरुले गर्ने काम भइरहेको र सडकसँग पनि समन्वय गरेर अघि बढ्ने बताए । जनताको कसरी राहत दिन सकिन्छ भनेर आफू रात दिन नभनी काममा लागेको भन्दै आफूहरु जनतालाई सुविधा दिने कुरामा कसैसँग सम्झौता नगर्ने उनको धारणा छ ।
आयोजना कार्यान्वयन निर्देशनालयले बढीमा २० दिन भित्र खानेपानीको पाइप बिछ्याउने काम सकिने मन्त्री शाहीलाई जानकारी गराएको छ । मन्त्री शाहीले सम्बन्धित निकायका पदाधिकारीहरुलाई जनतालाई सास्तीबाट मुक्ति दिनुपर्ने भन्दै त्यहि अनुसार काम गर्नु निर्देशन दिए । उनले पहिलो प्राथमिकता मुख्य सडकको काम सम्पन्न गर्नुपर्ने बताए । अहिले मन्त्री शाही रातको समयमा नियमित रुपमा अनुगमनका लागि निस्कने र कुनै समस्या देखेको खण्डमा तत्काल सम्बन्धित निकायलाई निर्देशन दिने गरेका छन् । अहिले काठमाडौंका मुख्य ठाउँमा रातको समयमा पाइप बिछ्याइउने र त्यस्तो सडकमा अस्थायी पिच गर्न काम भइरहेको छ ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.

Search This Blog

Blog Archive

Contributors