डाक्टरमात्रै हैन अस्पताल पनि नक्कली

नक्कली प्रमाणपत्रधारी डाक्टरहरुविरुद्ध प्रहरीले अपरेसन क्वाक चलाइरहेको छ। सयौँ डाक्टरहरु अनुसन्धानको घेरामा छन्। तर राजधानी काठमाडौँमा नक्कली डाक्टरमात्र हैन, अनुमति नै नलिएको नक्कली अस्पताल पनि खुल्लमखुल्ला सञ्चालन भइरहेको छ। पहिलोपोस्टका सविन ढकालको रिपोर्ट –

काठमाडौँको पानीपोखरीमा एउटा पाँच तले सेतो घरमा ठूलो अक्षरले लेखिएको साइनबोर्ड झुण्ड्याइएको छ- वेल होप हस्पिटल। 

यो अस्पतालले 'कान्तिपुर' लगायतका राष्ट्रिय दैनिकहरुमा दिनहुँ विज्ञापन पनि गर्ने गरेको छ जसमा अत्याधुनिक जापानी प्रविधिबाट बिना अपरेसन उपचार गर्ने दावी गरिएको छ। असहायलाई उपचार खर्चमा विशेष सहुलियत, टाढाबाट आएका बिरामीहरुलाई निःशुल्क बस्ने व्यवस्था लगायतका आकर्षक 'अफर' पनि दिइएको छ। 

खुल्लमखुल्ला स्वास्थ्यको व्यापार गर्दै आएको यो अस्पताल दर्ता नै नभएको पहिलोपोस्टले केही दिनदेखि गरेको अनुसन्धानले देखाएको छ। 
स्वास्थ्य क्लिनिक, डाइग्नोष्टिक सेन्टर, पोली क्लिनिक तथा २५ बेडसम्मका अस्पतालका लागि सम्बन्धित जिल्ला स्वास्थ्य/जनस्वास्थ्य कार्यालयबाट अनुमति लिनुपर्ने व्यवस्था स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्ड सम्बन्धी निर्देशिका, २०७० मा रहेको छ। 

यो अस्पतालका बारेमा हामीले काठमाडौँस्थित जनस्वास्थ्य कार्यालयमा सोधखोज गर्यौँ । त्यहाँका कर्मचारी खेमराज सापकोटाले खोजे तर वेलहोप नामको अस्पताल दर्ता भएको देखिएन। 

करसमेत छली

नाम नखुलाउने शर्तमा अस्पतालमामा कार्यरत कर्मचारीले दिएको जानकारी अनुसार यहाँ दैनिक १ लाखभन्दा बढीको कारोबार हुने गरेको छ। तर बिरामीले भ्याट बिल भने पाउने गरेका छैनन्। 

अस्पतालले विगत केही दिनदेखि सादा बिल बनाएर दिने गरेको बिरामीहरुले बताएका छन्। 

केही दिनअघि महानगरीय अपराध अनुसन्धान व्यूरोमा दर्ता नै नगरी नक्कली डाक्टर राखेर सञ्चालन गरेको भन्दै उजुरी समेत परेको छ।


के भन्छ व्यवस्थापन ?

आफूलाई अस्पतालको मेनेजर बताउने सुभाष श्रेष्ठले अस्पताल खोलेको १ महिना मात्र भएकाले दर्ता भइनसकेको बताएका छन्। उनले पहिलोपोस्टलाई भने, 'अहिले हामीले दर्ता गरिसकेका छैनौँ। विस्तारै दर्ता गर्छौँ।' 

बिरामीलाई अस्पतालले बिल नदिएको बिषयमा पनि उनले नयाँ भएकाले नदिएको बताए। केही दिनदेखि भने बिल दिएको उनले दावी गरे। तर भ्याट बिल हो कि सादा बिल भन्ने बारे आफूलाई जानकारी नभएको उनले बताए।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.

Search This Blog

Blog Archive

Contributors