कांग्रेसले माओवादीसँग मिलेर एमालेलाई ठीक लगाउँला भनेर नसोचे हुन्छ: दाहाल



असार २०, २०७३- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रतिशोधको रणनीति त्याग्न कांग्रेसलाई आग्रह गरेका छन् । काभ्रेको नालामा सोमबार भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले समयको गाम्भीर्यतालाई बुझ्न कांग्रेस र एमालेलाई आग्रह गरे । ‘एमालेका साथीहरुले विषय (सरकार फेर्ने)लाई अन्यथा नलिनुहोला,’ प्रधानमन्त्री केपी शर्मा ओलीसँग सोमबार दुई घण्टा कुरा गरेर काभ्रे आएको बताउँदै उनले भने, ‘कांग्रेसले पनि माओवादीसँग मिलेर आएपछि अर्को (एमाले)लाई देखाउँला भन्ने नसोच्नुहोला ।’ कार्यक्रममा एमालेका नेताहरुले दाहाल सरकार परिवर्तनको खेलमा लागेको धारणा राखेपछि दाहाले प्रष्टोक्ति दिएका हुन् । उनले एउटा सरकार गिराउने र अर्को बनाउने खेलले नेपाललाई कहिं पुर्‍याउन नसक्ने बताउँदै राष्ट्रिय सहमतिका लागि जोड दिएका हुन् । ‘ओलीजीमा सहमति हुन्छ, ठीक छ, शेरबहादुरजीमा हुन्छ ठीक छ,’ उनले भने, ‘शान्तिप्रक्रिया पनि टुंग्याउनु छ, शान्तिप्रक्रियामा माओवादीको भूमिका छ भन्ने हो भने माओवादी पनि तयार छ ।’ दाहालले सहमतिका लागि जसले त्याग गर्ने तत्परता देखाउँछ, इतिहासले उसैलाई सम्मान गर्ने उल्लेख गर्दै भने, ‘कसैले सहमतिका लागि त्याग गर्दैन भने मुद्धाका लागि सहमति गरेर अघि बढ्नुपर्ने हुन्छ ।’ दाहालले आफू प्रधानमन्त्री हुन हतारिएको भन्ने टिप्पणीमा सत्यता नभएको पनि दाबी गरे । ‘कहि प्रचण्ड पो प्रधानमन्त्री हुन हतारिएको हो कि टिप्पणी देखिन्छन्,’ उनले भने, ‘सवाल प्रधानमन्त्रीको होइन, संविधान असफल होला भन्ने चिन्ताबाहेक अरु केही छैन ।’ संविधान कार्यान्वयन र पुनर्निर्माणका लागि राष्ट्रिय सरकारको आवश्यकता महसुस भएको दाहालको भनाइ छ । ‘हामीले राष्ट्रिय स्वाधिनताको लडाइँ लडिरहँदा आन्तरिक राष्ट्रिय एकता दुर्घटनामा पर्ने त होइन भन्ने छ, पुनर्निर्माण कछुवाको गतिमा छ, १ प्रतिशत पनि काम भएको छैन,’ उनले राष्ट्रिय सहमतिको सरकारबारे दलिल पेस गरे, ‘यो कामका लागि राष्ट्रिय सहमतिबिना सम्भव छैन भन्ने चिन्ता छ ।’ दाहालले संविधान बन्न नदिनेहरु कार्यान्वयन नहोस् भनेर सक्रिय रहेको उल्लेख गरे । ‘त्यही भएर त्यतिबेलै मैले केपी ओलीजीलाई प्रधानमन्त्री र सुशीलजीलाई राष्ट्रपति बनाऊ भनेको थिएँ, एमाले र कांग्रेसका साथीहरुले आफ्नो नेताहरुलाई सोध्न सक्नुहुनेछ,’ उनले दाबी गरे । दाहालले मुलुक अप्ठ्यारो अवस्थामा रहेकाबेला विगतमा पनि दलहरुबीच राष्ट्रिय एकता कायम हुने गरेको स्मरण गर्दै संविधान कार्यान्वयनमा पनि दोहोरिने विश्वास व्यक्त गरे । ‘नेपाली राजनीतिमा जोखिम उठाउने र अगाडि बढ्ने परिघटना भएका छन्,’ उनले भने, ‘अप्ठ्यारोबेलामा राष्ट्रिय सहमति देखाएका छौं, अझै पनि देखाउने छौं ।’

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.

Search This Blog

Blog Archive

Contributors