डाक्टर केसी एकाएक अख्तियार प्रमुखविरुद्ध खनिनु भो: दाहाल


रौतहट— सत्ता साझेदार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सन्त डाक्टर गोविन्द केसीले किन अख्तियार प्रमुख आयुक्त लोकमान सिंह कार्कीलाई महाअभियोग माग गरे भन्ने आफूले बुझ्न नसकेको बताएका छन्। माओवादी सांसद सत्यनारायण भगत बिनकी छोरीको विवाह समारोहमा भाग लिन सोमबार चन्द्रनिगाहपुर आइपुगेका अध्यक्ष दाहालले डा.केसी एकाएक अख्तियार प्रमुख कार्कीविरुद्ध खनिएको बताए। ‘मैले राम्रोसँग बुझेको छैन’, सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष दाहालले भने, ‘एकाएक किन उहाँ अख्तियार प्रमुखमाथि खनिनु भएको हो मैले बुझेको छैन।’ डा. गोविन्द केसीले अख्तियार प्रमुख कार्कीले पदको दुरुपयो गरी मेडिकल शिक्षा विकृति संस्थागत गर्न हस्तक्षेपकारी भूमिका निर्वाह गरेको भन्दै सोमबार महाअभियोग लगाउन १४ दिने अल्टिमेटम दिएका थिए। भ्रष्ट्राचार अनुसन्धान गर्नुपर्ने निकायका प्रमुखले अधिकारको चरम दुरुपयोग गरेको डा.केसीले आरोप लगाएका थिए। अख्तियार प्रमुख कार्कीका आफन्त डा.बालमानसिंह कार्की तथा विराट मेडिकल कलेजका सिट संख्या निर्धारणमा समेत कार्कीले पदको चरम दुरुपयोग गरेको आरोप छ। भूकम्पपीडितलाई पाँच लाख दिनुपर्छ एक फरक प्रसङ्गमा अध्यक्ष दाहालले सरकार र प्रमुख विपक्षी लचिलो भएर भूकम्पपीडितका समस्या समाधान गर्नुपर्ने बताए। भूकम्पपीडितलाई ३ लाख रुपैयाँ नगद दिनुपर्ने बताउँदै अध्यक्ष दाहालले लचिलो भएर यो विषय टुङ्ग्याउँदा जनताले राहत पाउने उल्लेख गरे। ‘मैले प्रधानमन्त्रीजीलाई भनेँको छु दुवैतर्फबाट लचिलो भएर यो कुरा टुङ्ग्याइ दिनुपर्छ। हाम्रो पार्टीकै कुरा गर्ने हो भने त हामी दुई लाख मात्र होइन नगद तीन लाख दिनुपर्छ भन्ने हो। हाम्रो पार्टीको नीति त अझ पाँच लाख रुपैयाँ दिएपछि मात्र भूकम्प पीडितले नयाँ घर बनाउन सक्छन् भन्ने हो’, उनले भने, ‘अहिले सहमति गर्दा तीन लाख रुपैयाँ दिँदा राम्रो हुन सक्छ भनेर मैले सत्तारुढ दलहरुको बैठकमा कुरा राखेको छु। सायद आजसम्ममा सहमति हुन सक्छ।’ पुरानो कार्यविधिका कारण सरकारले एकमुस्ट रकम प्रदान गर्न अप्ठ्यारो भइरहेको उनले सुनाए। ‘पुरानो कार्यविधिअनुसार मिल्दैन भने नयाँ कार्यविधि बनाएर तीन लाख रुपैयाँ दिनुपर्छ भनेर र्भखरै प्रधानमन्त्रीजीलाई भनेको छु’, उनले भने, ‘म आशावादी छु सायद आज सहमति हुन्छ।’ दाहाल चन्द्रनिगाहपुर आइपुग्दा सांसद भगत परिवारले उनलाई न्यानो स्वागत गरेका थिए। अध्यक्ष दाहालको गलामा अँटुञ्जेलसम्म माला पहिराइदिएका थिए।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.

Search This Blog

Blog Archive

Contributors