खेलकुद
»
रोनाल्डोको सपना लेवान्डोस्कीमा निर्भर
रोनाल्डोको सपना लेवान्डोस्कीमा निर्भर
असार १६, २०७३- युरोपेली फुटबलका दुई ठूला ‘मार्कसम्यान’ रोबर्ट लेवान्डोस्की र क्रिस्टियानो रोनाल्डो बिहीबार युरो २०१६ मा एक–अर्काको आमनेसामने हुनेछ, जतिबेला पोल्यान्डले युरो २०१६ को पहिलो क्वाटरफाइनलमा पोर्चुगलको सामना गर्नेछ । रोनाल्डोले अहिलेसम्म आफ्नो देशका लागि कुनै ठूलो उपाधि जित्न सकेका छ्रैनन् । यसमा पूर्णविराम लगाउने रोनाल्डोको सपना लेवान्डोस्कीको खेलमा निर्भर हुनेछ ।
रोनाल्डो युरोपेली च्याम्पियनसिपमा मिचेल प्लाटिनीको नाममा रहेको सर्वाधिक नौ गोलको कीर्तिमानबाट एक गोलले मात्र पछाडि छन् । यसअघि नै रियल म्याड्रिडका यी स्टार युरोका चार संस्करणमा गोल गर्ने पहिलो खेलाडी बनेका थिए । यस्तै उनी युरोमा सबैभन्दा बढी खेल खेल्न खेलाडी पनि भइसकेका छन् । रोनाल्डो अहिले ३१ वर्षका भइसके र उनले पोर्चुगलका लागि उपाधि जित्ने थप सम्भावना कम रहेको छ ।
पोल्यान्डमाथि विजयी रहे पनि रोनाल्डोले सेमिफाइनलमा रियलका साथी खेलाडी गेराथ बेलको वेल्स अथवा बेल्जियमको सामना गर्नुपर्नेछ । हंगेरीविरुद्धको खेलमा दुई गोल गरेर समूह चरणमा पोर्चुगलको उद्धार गरेका रोनाल्डोले अझै पनि फ्रान्समा आफ्नो प्रतिष्ठाअनुसार भने खेल्न सकेका छैनन् । आइसल्यान्डविरुद्धको खेलमा व्यक्तिगत खराब प्रदर्शनपछि विपक्षी टिमको आलोचनाले समस्यामा परेका थिए ।
त्यसयता उनी अस्ट्रियाविरुद्धको खेलमा पनि पेनाल्टीबाट गोल गर्न चुकेका थिए । क्रोएसियाविरुद्ध अन्तिम १६ को खेलमा पनि रोनाल्डो १ सय १७ मिनेटसम्म चुपचाप जस्तै रहे । तर उनले सिर्जना गरेको अवसरमा रिकार्डो क्वरेस्माले हेडमार्फत गोल गरेका थिए । ‘प्रत्येक खेलमा हामी अवसर सिर्जना गरिरहेका हुन्छौं । हामीसँग विश्वकै सबैभन्दा राम्रो खेलाडी रहेका छन्, रोनाल्डो । यस्तै हामीसँग नानी, क्वरेस्मा र जाओ मारियो पनि छन्,’ पोर्चुगाली डिफेन्डर जोसे फोन्टेले भने ।
क्रोएसियाविरुद्धको खेलमा पनि पोर्चुगलले अपनाएको नीतिको चर्को आलोचना भएको थियो । त्यस खेलको ९० मिनेटमा कुनै पनि टिमले एउटै आक्रमण बुनेका थिएनन् र युरो इतिहासमै यो यस्तो पहिलो खराब उदाहरण बनेको थियो । तर फोन्टे मान्छन्, फर्नान्डो सान्तोसको टिमले सेमिफाइनल प्रवेश गर्छ भने यस्तो आलोचनाले खास अर्थ राख्दैन । ‘यही हामीले जितका लागि खराब खेल्नुपर्छ भने म त्यसका लागि तयार छु,’ उनले थपे ।
अर्कोतर्फ रोनाल्डो अझै लयमा नआएको आरोपलाई मान्न पोल्यान्डका गोलरक्षक वोजसिचेज स्जजेन्स्की तयार छैनन् । उनी भन्छन्, ‘पोर्चुगल निकै राम्रो टिम हो । ऊसँग क्रिस्टियानो रोनाल्डो मात्र हैन, अरू धेरै राम्रा खेलाडी छन् । त्यति मात्र होइन, रोनाल्डोले राम्रो खेलिरहेका छैनन् भन्नेमा पनि मलाई विश्वास छैन । त्यसैले बिहीबार पोर्चुगलको सामना गर्दा हामीले धेरै मिहिनेत गर्नुपर्ने तय छ ।’
फ्रान्समा लेवान्डोस्की लयमा मात्र देखिएका छैनन्, उनले चार खेलमा अहिलेसम्म कुनै पनि गोल गरेका छैनन् । तर स्वीट्जरल्यान्डविरुद्धको टाइब्रेकरमा भने उनी गोल गर्न सफल रहे र उनको टिम ५–४ ले विजयी रहेर पहिलोपल्ट कुनै ठूलो प्रतियोगिताको क्वाटरफाइनलसम्म पुगेको थियो । पोल्यान्डका हुबर्ट मालोवेस्की लेवान्डोस्की लयमा नरहेको आरोपलाई मान्ने पक्षमा छैनन् ।
‘हामीलाई उनको लयबाट कुनै चिन्ता छैन । पछिल्लो खेलपछि उनले शरीरमा केही पीडा महसुस गरेका थिए । तर उनी पोर्चुगलविरुद्धको खेलका लागि पूर्णत: तयार हुनेछन्, यसमा कुनै चिन्ता छैन । पोर्चुगलका लागि पनि राफेल गुरेरो, आन्द्रे गोमेज र जाओ माउटिन्होको फिटनेसलाई लिएर तनाव हुनेछ । त्यस खेलमा अहिलेका युवा सनसनीपूर्ण खेलाडी रेनाटो सान्चेजले पोर्चुगलका लागि सुरुदेखि खेल्न पाउने तय जस्तै मानिएको छ ।
0 comments
Write Down Your Responses